अक्षय गोल्याणको पहलमा सामुदायिक कुकुरका लागि वर्षैभरि हेरचाह अभियान

Akshay Golyān
कुकुर पूजा गर्ने दिनमा मात्र होइन, वर्षभरि नै सामुदायिक कुकुरप्रति माया र जिम्मेवारी देखाउनुपर्ने सन्देशसहित गोल्याण फाउन्डेसनले नयाँ अभियान सुरु गरेको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित छक्कुबक्कु टोलमा शनिबार थालिएको तीनमहिने परीक्षण परियोजनाको अगुवाइ फाउन्डेसनका अध्यक्ष अक्षय गोल्याणले गरेका छन्। फाउन्डेसनका अनुसार अभियानले सामुदायिक कुकुरको स्वास्थ्य र सुरक्षा सुधार गर्ने, पशुबाट सर्न सक्ने रोगको जोखिम घटाउने तथा मानिस र जनावरबीच सहअस्तित्व प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। प्रारम्भिक चरणमा कुकुरलाई पौष्टिक खाना खुवाउने, आवश्यक खोप लगाउने र संरक्षणबारे जनचेतना फैलाउने कार्यक्रम रहनेछ। तीन महिनाको अवधिमा कुकुरको संख्या र स्वास्थ्य अवस्था, व्यवस्थापनमा लाग्ने खर्च तथा स्थानीय सहकार्यको प्रभावकारिता पनि अध्ययन गरिने फाउन्डेसनले जनाएको छ। त्यसबाट प्राप्त तथ्याङ्क र अनुभवका आधारमा भविष्यमा अभियानलाई दीर्घकालीन र वैज्ञानिक बनाउने ढाँचा तयार पार्ने योजना छ। कार्यक्रममा प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाले सामुदायिक कुकुरप्रतिको सम्मानले समुदायलाई पनि जिम्मेवार बनाउने बताइन्। गोल्याणले वर्षमा एक दिन गरिने पूजाको सांस्कृतिक भावनालाई हरेक दिनको माया र सम्मानमा बदल्ने उद्देश्यले अभियान थालेको बताए। फाउन्डेसनकी प्रमुख कार्यकारी अधिकृत ज्योति गैह्रेले सडक र सार्वजनिक क्षेत्रमा आश्रित कुकुरका आधारभूत आवश्यकता पूरा गर्नुका साथै तिनप्रतिको सामाजिक दृष्टिकोण सकारात्मक बनाउने लक्ष्य रहेको बताइन्। कुकुरसँग डराउने वा पशुप्रेमी नभएका व्यक्तिले पनि दुर्व्यवहार नगर्न, ढुंगा नहान्न र खाना खुवाउने स्वयंसेवकलाई अवरोध नगर्न उनले आग्रह गरिन्। अभियान सञ्चालनमा काठमाडौं महानगरपालिका र वडा नम्बर १० कार्यालयसँग समन्वय गरिएको फाउन्डेसनले जनाएको छ।
Sursa ↗