केशव सिग्देललाई सार्क लाइफटाइम एचिभमेन्ट अवार्ड, एक लाख भारतीय रुपैयाँसहित सम्मान

कवि तथा लेखक केशव सिग्देल सार्क लिटरेचर फेस्टिभलमा प्रतिष्ठित सम्मानबाट पुरस्कृत भएका छन्। आयोजकका अनुसार ६७औँ संस्करणमा उनलाई सार्क लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको हो। पुरस्कारसँगै उनले एक लाख भारतीय रुपैयाँ नगद पनि प्राप्त गरेका छन्।
भारतको नयाँ दिल्लीस्थित फाइन आर्ट एकेडेमीको सभाकक्षमा आइतबारदेखि बुधबारसम्म चलिरहेको कार्यक्रममा नेपालसहित बङ्गलादेश, भुटान, श्रीलङ्का, भारत र अफगानिस्तानका कवि तथा लेखक सहभागी छन्। चार दिनसम्म आयोजना हुने सम्मेलनमा सिग्देलको सम्मानलाई नेपाली साहित्यिक क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
उद्घाटन दिन नेपालका लागि पूर्वराजदूत मञ्जीवसिंह पुरी, श्रीलंकाली नियोगकी हाइकमिसनर माइसिनी कोलुनी, महात्मा गान्धीकी नातिनी डा. तारा गान्धी भट्टाचार्य तथा फाउन्डेसन अफ सार्क राइटर्स एन्ड लिटरेचरकी अध्यक्ष अजित कौरले मन्तव्य राखेका थिए। चित्रकार अर्पणा कौरले स्वागत मन्तव्य दिएकी थिइन्।
सम्मेलनमा प्रा. आशिष नन्दी, प्रा. अशोक भल्ला र प्रा. फकरुल आलमसहित सार्क राष्ट्रका लेखक तथा साहित्यकार उपस्थित छन्। नेपालको प्रतिनिधिमण्डलमा डा. रामदयाल राकेश, अभय श्रेष्ठ, सरस्वती तिवारी, अनिश घिमिरे, विधान आचार्य, भिष्म उप्रेती, चन्द्र गुरुङ, प्रकाश थाम्सुहाङ, रजनी मिला, रमी प्रिया, लक्ष्मी रुम्बा, सुन्दर कुरुप, हेमन्त विवश र अनुषा शर्मा पनि सहभागी रहेको विवरणमा उल्लेख छ।
Sursa ↗