छविलाल सार्कीको मादल पेसा संकटमा: तिहारमा माग घट्दा निर्माणको काम ठप्प

Chhabilal Sarki
तिहारसँगै देउसी–भैलोको भाका सुनिन्थ्यो, अनि मादलको तालले गाउँदेखि सहरसम्मको माहोल तताउँथ्यो। तर धनकुटाका मादल निर्माता छविलाल सार्कीका लागि अहिले चाडबाडको मौसम पहिलेझैँ व्यस्त छैन। मादलको माग घटेपछि परम्परागत सीपमा टिकेको उनको पेसा नै संकटमा परेको छ। धनकुटा नगरपालिका–१ गैरी टोलका सार्कीलाई स्थानीयले ‘छोटे’ भनेर चिन्छन्। उनका अनुसार पहिले तिहार आउनुभन्दा एक महिनाअघि नै मादल बनाउन चटारो सुरु हुन्थ्यो। देउसी–भैलो खेल्ने समूहले नयाँ मादल किन्थे, पुराना मर्मत गराउँथे र उनलाई कामले फुर्सद हुँदैनथ्यो। यसपालि भने अवस्था फेरिएको छ। “अहिले मादलको माग निकै कम आउँछ, पूरै फुर्सद छ भने पनि हुन्छ,” सार्कीले भनेका छन्। उनका अनुसार मनोरञ्जनका माध्यम र मानिसको रुचि बदलिँदा मादलको प्रयोग घट्दै गएको छ। यो वर्ष केही पुराना मादलमा खरी लगाउने कामबाहेक नयाँ मादल बनाउनुपर्ने अवस्था आएको छैन। थोरै नयाँ माग आए पनि झन्झटिलो प्रक्रिया र उमेरका कारण उनले काम लिन सकेनन्। मादल बनाउनु केही घण्टामै सकिने काम होइन। काठ छानेर त्यसलाई आकार दिनु, भित्रबाट खोक्रो पार्नु, दुवैतर्फ छाला कस्नु र राम्रो ध्वनि निकाल्न खरी लगाउनु पर्छ। खमारी, लामपाटो, सिरीस र खिर्रोमध्ये उपयुक्त काठ छान्दा आवाज र गुणस्तरमा फरक पर्ने सार्की बताउँछन्। छालाको तन्काइ र खरी लगाउने सीपले पनि मादलको स्वर निर्धारण गर्छ। आकारअनुसार एउटा मादल तयार गर्न तीनदेखि सात दिनसम्म लाग्छ। श्रम र सामग्रीका आधारमा मूल्य पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म पर्ने गरेको छ। कच्चा पदार्थ जुटाउन पनि कठिन छ; विशेषगरी छाला भारतबाट ल्याउनुपर्ने अवस्था रहेको सार्कीको भनाइ छ। लामो समय लगाएर बनाएको मादल बिक्री हुन्छ भन्ने निश्चित नहुँदा व्यवसायीको चिन्ता थपिएको छ। घट्दो मागले केवल उनको आम्दानीमा असर पारेको छैन, पुस्तौँदेखि चलिआएको सीप जोगाउने चुनौतीसमेत बढाएको छ।
Sursa ↗