नेपालमा एआई सम्मेलनका प्रमुख वक्ता बनेर आए निक एस्टन–हार्ट

Nick Aston-Hart
संयुक्त राष्ट्र संघको डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा एआई र साइबर सुरक्षा नीतिका विज्ञ निक एस्टन–हार्ट नेपाल आएका छन्। ‘नेसनल एआई समिट २०२६’ मा सहभागी हुन उनी बिहीबार काठमाडौं आइपुगेका हुन्। सम्मेलन शनिबार राजधानीको होटल हिमालयमा आयोजना हुने बताइएको छ। आयोजक संस्था डिजिटल मिडिया फाउन्डेसनका अध्यक्ष प्रवेश सुवेदीका अनुसार एस्टन–हार्ट सम्मेलनका प्रमुख वक्ता हुन्। उनले विश्वव्यापी एआई प्रतिस्पर्धामा नेपालजस्ता विकासशील मुलुकले आफ्नो स्थान कसरी बनाउन सक्छन् भन्ने विषयमा मन्तव्य दिने कार्यक्रम छ। उनको प्रस्तुति डिजिटल सार्वभौमिकता, एआईको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा तथा नेपालका लागि उपलब्ध रणनीतिक अवसर र चुनौतीमा केन्द्रित रहने आयोजकले जनाएको छ। एस्टन–हार्ट लामो समयदेखि डिजिटल प्रविधि, अन्तर्राष्ट्रिय व्यापार, डिजिटल गभर्नेन्स र साइबर सुरक्षासम्बन्धी नीति निर्माणमा सक्रिय रहेको समाचारमा उल्लेख छ। दुई दशकभन्दा बढी समयदेखि उनले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्र, बहुराष्ट्रिय कम्पनी र विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै डिजिटल अर्थतन्त्र र प्रविधिसम्बन्धी नीतिमा काम गरेको जनाइएको छ। ‘प्रतिबद्धतादेखि प्रगतिसम्म: नेपालको कृत्रिम बुद्धिमत्ता क्षमता विस्तार’ नारासहित आयोजना हुन लागेको सम्मेलन एकदिने हुनेछ। आयोजकका अनुसार नेपालसहित अमेरिका, बेलायत, जापान र सिंगापुरमा कार्यरत एआई तथा प्रविधि विज्ञ, नीतिनिर्माता, अनुसन्धानकर्ता, उद्यमी र सञ्चारकर्मी कार्यक्रममा सहभागी हुनेछन्। एस्टन–हार्टको नेपाल भ्रमण र सम्मेलनमा उनको भूमिकाले एआई विकासबारेको छलफललाई अन्तर्राष्ट्रिय अनुभवसँग जोड्ने आयोजकको अपेक्षा छ।
Sursa ↗