प्रख्यात राई सुनकोसी किनारमा मृत भेटिए, परिवारले घटनाबारे उठायो प्रश्न

दसैंको रातदेखि सम्पर्कविहीन रहेका ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुका २२ वर्षीय प्रख्यात राई खोटाङमा मृत भेटिएका छन्। कात्तिक २४ गते राति हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित सुनकोसी नदीको राजदह नजिक बालुङमारीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी च्यास्मीटारबाट टोली घटनास्थल पुगेको थियो। उँबुबाट पुगेका आफन्तले शवको पहिचान गरेको मानेभञ्ज्याङ गाउँपालिका कांग्रेस सभापति हुकुमसिं राईले बताएका छन्। शव पोस्टमार्टमका लागि ओखलढुंगा लैजाने तयारी गरिएको छ।
कात्तिक ४ गते राति साढे ९ बजे सांस्कृतिक कार्यक्रममा जाने भन्दै घरबाट निस्किएका प्रख्यात कार्यक्रममा नपुगेको स्थानीयले बताएका छन्। उनका बुवा प्रकाशहरी क्याम्पा राईका अनुसार, उनी बाहुनीडाँडाकी एक युवतीलाई भेट्न जयरामको पुरानो झोलुङ्गे पुल पुगेका थिए। बुवाले बताएअनुसार, प्रख्यातले पुलमा पुगेपछि भेटका लागि अर्की युवतीलाई मेसेन्जरमार्फत खबर पठाएका थिए। राति १ बजेर ४३ मिनेटसम्म सन्देश पठाएको देखिए पनि त्यसपछि उनी सम्पर्कविहीन भएका थिए।
मानेभञ्ज्याङ–६ जाक्पामा कार्यक्रम आयोजना गरिएको थियो। प्रख्यात दूधकोसीस्थित जयराम आसपास, मानेभञ्ज्याङ–६ र हलेसी तुवाचुङ–१ बाहुनीडाँडाको सीमाक्षेत्रबाट हराएका थिए। उनको खोजीका लागि सशस्त्र प्रहरीको खुर्कोटस्थित विपद् व्यवस्थापन बेसबाट गोताखोरसहितको टोली र हर्कपुरको अस्थायी सुरक्षा बेसको टोली परिचालित भएको समाचारमा उल्लेख छ। शव भने खोजी गरिएको क्षेत्रभन्दा तल फेला परेको थियो।
आफन्तले घटनालाई शंकास्पद मानेका छन्। उनीहरूले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न माग गरेको समाचारमा जनाइएको छ।
Sursa ↗