बालेन्द्र शाहको भारत भ्रमण २४ घण्टामै सकिने, भेटवार्ताको यस्तो छ तालिका

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण यसपटक छोटो हुने भएको छ। परराष्ट्र मन्त्रालयका स्रोतलाई उद्धृत गर्दै प्रकाशित विवरणअनुसार उनी नेपाली प्रतिनिधिमण्डलसहित मंसिर ६ गते नेपाल एयरलाइन्सको विमानबाट दिल्ली प्रस्थान गर्नेछन् र एक दिनमै स्वदेश फर्किने कार्यक्रम छ।
दिल्ली पुगेको दिन नेपाली दूतावासले आयोजना गर्ने जलपान समारोहमा शाह सहभागी हुन सक्ने सम्भावना छ। तर, त्यसमा उनको उपस्थिति निश्चित भइसकेको छैन। भ्रमणको मुख्य औपचारिक कार्यक्रम भने मंसिर ७ गतेका लागि तय गरिएको विवरणमा उल्लेख छ।
त्यस दिन शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गर्नेछन्। त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता र एक्लाएक्लै भेटवार्ता हुने बताइएको छ। भारतका विदेशमन्त्री एस जयशंकरले पनि शाहसँग भेट्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
यसपटकका लागि परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको तालिकामा यी भेटबाहेक अन्य वार्ताबारे जानकारी छैन। यसअघिका राजकीय भ्रमणमा दिल्लीको औपचारिक भेटवार्तापछि प्रधानमन्त्री अन्य प्रदेशतर्फ पनि जाने गरेको उल्लेख गर्दै विवरणले शाहको भ्रमण त्यसभन्दा फरक हुने जनाएको छ। उनी दिल्लीका कार्यक्रम सकेर एक दिनमै नेपाल फर्किनेछन्।
Sursa ↗