म्याकडोनाल्ड्सकी पूर्व कर्मचारी होपले किशोरी कर्मचारीको सुरक्षामाथि प्रश्न उठाइन्

बेलायतको म्याकडोनाल्ड्स शाखामा काम गरेकी होपले आफू र कम उमेरका सहकर्मीले कार्यस्थलमा असहज व्यवहार सामना गरेको बताएकी छन्। बीबीसीसँग कुरा गर्दै उनले ग्राहकबाट यौनजन्य टिप्पणी सुन्नुपरेको र व्यवस्थापकले आफूलाई पर्याप्त साथ नदिएको आरोप लगाइन्। सन् २०२३ मा वेस्ट मिडल्यान्ड्सको शाखामा काम गर्दा त्यहाँको वातावरण आफूलाई खराब लागेको उनले बताइन्।
होपका अनुसार केही वरिष्ठ सहकर्मीले १६ र १७ वर्षका महिला कर्मचारीलाई हेरिरहन्थे र उनीहरू १८ वर्ष पुगेपछि सम्बन्ध राख्ने चाहना व्यक्त गर्थे। यस्तो कुरा सुन्दा आफू चिन्तित भएको उनले बताइन्। उनका अनुसार केही कर्मचारीले किशोरीहरू १८ वर्ष पुग्ने प्रतीक्षा गरिरहेको जस्तो अभिव्यक्ति दिएका थिए। उमेर पुगेपछि पनि उनीहरू अझै बालबालिका नै हुने उनको भनाइ थियो।
उनले एक व्यवस्थापक पछाडिबाट आएर आफ्नो काँधमा हात राखेको घटना पनि सुनाइन्। त्यसपछि ती व्यवस्थापक नजिक आएको देख्दा आफू त्यहाँबाट हट्ने गरेको होपले बताइन्। अर्को पटक रात्रिकालीन सिफ्टमा दुई ग्राहकले आफूलाई वस्तुजस्तो व्यवहार गर्दै अनुचित टिप्पणी गरेको र व्यवस्थापकले बचाउ नगरेको उनको आरोप छ। उजुरी गर्दा ‘सहनुहोस् र आफैँ सामना गर्नुहोस्’ भन्ने जवाफ पाएको उनले बताइन्।
होप म्याकडोनाल्ड्सविरुद्ध विभेदसम्बन्धी मुद्दा दायर गर्ने सयौँ वर्तमान तथा पूर्वकर्मचारीमध्ये एक हुन्। बीबीसीका अनुसार यसै साता न्यायाधीशले कम्पनीका ४५० मुद्दा प्रारम्भिक चरणमै खारेज गर्न माग गरेको निवेदन अस्वीकार गरेका छन्, र मुद्दाहरूको सुनुवाइ आगामी अप्रिलमा हुने अपेक्षा छ। कम्पनीले आफ्ना रेस्टुरेन्ट तथा कार्यालय सुरक्षित, सम्मानजनक र समावेशी बनाउनुलाई प्राथमिकता दिएको प्रतिक्रिया दिएको छ।
Sursa ↗