मिसबाह उल हकलाई काठमाडौंमा पाकिस्तानी दूतावासको रात्रिभोज

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) का बीच सुदूरपश्चिम रोयल्सका प्रशिक्षक मिसबाह उल हकले नेपालका लागि पाकिस्तानका राजदूत आमिर खानसँग भेट गरेका छन्। पाकिस्तानी दूतावासले आयोजना गरेको रात्रिभोजमा भएको भेटका क्रममा क्रिकेट र दुई देशबीचको सम्बन्धले पनि चर्चा पाएको दूतावासले जनाएको छ।
कार्यक्रममा सुदूरपश्चिम रोयल्सका निर्देशक जगत टमाटासहित दूतावासका प्रतिनिधिहरू उपस्थित थिए। काठमाडौंमा टोलीको जिम्मेवारी सम्हालिरहेका मिसबाहका लागि यो खेल तालिकाबीचको कूटनीतिक भेटघाट बनेको छ।
मिसबाहको प्रशिक्षणमा रहेको सुदूरपश्चिमले मंगलबार एनपीएलको क्वालिफायर–१ मा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्ने कार्यक्रम छ। उक्त खेल जित्ने टोली फाइनलमा पुग्नेछ। टोलीको महत्त्वपूर्ण खेलअघि भएको भेटमा मिसबाह र पाकिस्तानी राजदूत आमिर खान सहभागी भएका हुन्।
मिसबाहको नेतृत्वमा पाकिस्तानले सन् २०१२ को एसिया कप जितेको थियो। सन् २०१६ मा उनको कप्तानीकै समयमा पाकिस्तान आईसीसी टेस्ट वरीयतामा पहिलो स्थानमा पुगेको थियो। पाकिस्तानी दूतावासका अनुसार क्रिकेटले मानिसहरूलाई नजिक ल्याउने र नेपाल–पाकिस्तान सम्बन्धलाई बलियो बनाउन सहयोग गर्ने साझा चासोको विषय हो।
Sursa ↗