रवि लामिछाने र बालेनबीच पाँच घण्टा लामो भेट, भारत भ्रमणदेखि चुनावसम्म छलफल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’बीच भएको भेटवार्ता पाँच घण्टासम्म चलेको लामिछानेको सचिवालयले जनाएको छ। बुढानीलकण्ठस्थित लामिछानेको निवासमा भएको भेटमा सरकारका कामकाजदेखि आगामी चुनावसम्मका विषय उठेको बताइएको छ।
लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार प्रधानमन्त्री शाहले हालै सम्पन्न भारत भ्रमणबारे सभापतिलाई जानकारी गराएका थिए। दुई नेताबीच भ्रमण र त्यसबाट प्राप्त उपलब्धिबारे पनि कुराकानी भएको सचिवालयको भनाइ छ।
आसन्न प्रदेशसभा तथा स्थानीय तह निर्वाचन पनि छलफलको विषय बनेको बताइएको छ। रास्वपाले सुरु गर्न लागेको प्रशिक्षण अभियानबारे समेत उनीहरूले विचार आदानप्रदान गरेका थिए। भेटमा सरकारको कामकारबाही, मन्त्री र मन्त्रालयका विषयमा पनि चर्चा भएको सचिवालयले जनाएको छ।
आगामी संसद् अधिवेशन र अध्यादेशसम्बन्धी प्रसंग पनि उठेको आचार्यले बताएका छन्। भेटपछि लामिछानेको सचिवालयले दुवैबीच आत्मीय र सौहार्दपूर्ण कुराकानी भएको जनाएको छ। पाँच घण्टा लामो भेटमा कुन विषयमा कति समय खर्चियो भन्ने विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
Sursa ↗