सिता बादी राउटे समुदाय भेट्न सुन्धाराको गेस्ट हाउस पुगिन्

Sita Badi
काठमाडौं आएका राउटे समुदायका सदस्यलाई भेट्न मन्त्री सिता बादी उनीहरू बसेको सुन्धारास्थित गेस्ट हाउस पुगिन्। भेटमा उनले समुदायका सदस्यसँग उनीहरूको संस्कृति, परम्परागत सीप, बसोबास र जीवनस्तर सुधारका विषयमा कुराकानी गरेको मन्त्रालयको विवरणमा उल्लेख छ। सल्यान भ्रमणका बेला राउटे बस्तीमै पुगेर उनीहरूको जीवनशैली र समस्या बुझेकी बादीलाई त्यतिबेला समुदायका सदस्यले आफ्नै हातले बनाएका सामग्री उपहार दिएका थिए। काठमाडौंमा उनीहरू आएको थाहा पाएपछि त्यसअघिको भेट सम्झँदै आफू भेट्न पुगेको उनले बताइन्। भेटका क्रममा मन्त्रीले साडी, पोते, जुत्तालगायतका सामग्री हस्तान्तरण गरिन्। सामग्री पाएपछि राउटे समुदायका सदस्यले खुसी व्यक्त गर्दै धन्यवाद दिएको विवरणमा जनाइएको छ। उनीहरूले ती सामानबारे गाउँ फर्केपछि समुदायका अरूलाई पनि सुनाउने बताएका थिए। प्रधानमन्त्री बालेन शाह र मन्त्रीको तस्बिर देखाउँदा आफूहरूले प्रधानमन्त्रीलाई आन्दोलनपछि र मन्त्रीलाई अघिल्लो भेटदेखि चिनेको बताएका थिए। कुराकानीमा समुदायका सदस्यले मृत्यु भएपछि गरिने अन्त्येष्टि र त्यसपछि बसाइँ सर्ने परम्पराबारे जानकारी गराए। उनीहरूका अनुसार मृतकलाई बस्ती नजिकै अन्त्येष्टि गरेपछि सातदेखि बाह्र दिनसम्म किरिया बस्ने र त्यसपछि अर्को ठाउँमा सर्ने चलन छ। बारम्बार स्थान परिवर्तन गर्दा खानपान, सुरक्षित आवास, स्वास्थ्य र शिक्षासहितका सेवा पाउन कठिन हुने विषयमा पनि छलफल भएको थियो। बादीले राउटे समुदायको पहिचान र संस्कृतिको सम्मान गर्दै संरक्षण तथा प्रवर्द्धनमा सरकार लागिरहेको बताइन्। सुरक्षित बसोबास, खाद्यान्न, पोषण र जीवनस्तर सुधारका लागि थप के गर्न सकिन्छ भन्नेबारे उनले सुझाव मागेकी थिइन्। समुदायका सदस्यले शिक्षा, स्वास्थ्य र आवासमा क्रमिक परिवर्तन भइरहेको बताए पनि त्यसबारे अग्रज र मुखियालाई बुझाउनुपर्ने बताएका थिए।
Sursa ↗